खेलकुुदसमाचार

१३औं सागः पोखरा रंगशालाको ९० प्रतिशत निर्माणकार्य सम्पन्न, प्यारापिट जडान जारी

Spread the love

पोखरा, मंसिर ५ । १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी पोखरा रंगशालामा जारी निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रंगशालामा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । रंगशालाभित्र क्रिक्रेट मैदान, आर्चरी खेल मैदान, ब्याडमिन्टन कभर्डहल, पोखराको बहुउद्देश्य कभर्डहललगायतको भौतिक संरचनाको काम सकिएको छ ।

प्यारापिट जडान जारी

अहिले फुटबल मैदानको दायाँ–बायाँ प्यारापिट जडानको काम भइरहेको छ । १५ कन्टेनर सामान आइपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम थालिएको हो । यही मंसिर १५ गतेदेखि पोखरा रंगशालामा १३औं सागअन्तर्गत्को महिला फुटबल खेल हुँदैछ ।

फुटबल मैदान निर्माण कम्पनी भारतीय ग्रेड स्पोर्ट्स प्रालि र एमए कन्स्ट्रक्सन प्रालिले संयुक्तरुपमा गरिरहेका छन् । कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले मंसिर १२ गतेभित्र सम्पूर्ण काम सकेर मैदान हस्तान्तरण गर्ने बताए । अबको पाँच दिनभित्र प्यारापिट जडानको काम सकिनेछ’–उनले भने । उनकाअनुसार ८ हजारभन्दा बढी दर्शक क्षमताको प्यारापिट जडान गरिनेछ ।

मैदानको दुबोसमेत फेरिएको छ । फुटबल प्रतियोगिता सुरु हुन केही दिनमात्रै बाँकी रहँदा काम भने रात–दिन भइरहेको छ ।

सागमा समावेश २८ खेलमध्ये पोखरामा ८ खेल हुनेछन् । १९ खेल काठमाडौंमा हुनेछन् । कुस्ती खेल जनकपुरमा हुनेछ । सागको उद्घाटन काठमाडौंस्थित दशरथ रंगशालामा मंसिर १५ गते हुनेछ ।

Related Articles

Close