खेलकुुदसमाचार

आठौं राष्ट्रिय खेलकुदः ट्राइयाथलन पोखरामा हुने

Spread the love

चैत २६काठमाडौं । ट्राइयाथलन र पाराग्लाइडिङ्गका कारण गण्डकी प्रदेश पनि आठाैं राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ट्राइयाथलन र पराग्लाइडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भएपछि गण्डकी प्रदेश पनि आयोजनाको भागिदार भएको हो ।
पूर्वाञ्चलमा आयोजना भएको सातौं प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता पनि अन्तमा मध्य–पश्चिमाञ्चलले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।
पूर्वाधारका अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामा नै आयोजना हुने भए पश्चात् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।
नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दिएका हुन् । प्रतियोगिता यहि चैत ३० गते हुने भएको छ । ‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रयथोलन आयोजना गर्ने भनेका थियौं तर उक्त स्थल धार्मिक लगाएत अन्य विविध कारणले उक्त स्थानमा हुन सकेन अनि पूर्वाधार भएको पोखरामा गर्ने सोच बनाएका हौं,’ अध्यक्ष श्रेष्ठले भने ।
नेपालगञ्जमा हुन नसकेपछि काठमाडौंमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘ट्राईयाथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको हुन्छ तसर्थ हामीले पोखरालाई उचित स्थलको रुपमा लिएका हौं,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रायथोलन च्याम्यिनशिपलाई अन्तर्रा्ष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ वैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ ।
पोखरामा एसिया कपसहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु सँगै संचालन हुनेछन । साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप भने सातौं पटक हो । एशिया कपका लागि एशिया बाट मात्रै नभई विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुद बाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने  छ ।

Related Articles

Close