
पोखरा, १३ साउन । पोखरा महानगरपालिका ३१ का डा. रमिल अधिकारीलाई न्यूजील्यान्डमा सिभिक अवार्डबाट सम्मान गरिएको छ ।
बिहीबार आयोजित विशेष समारोहमा अपर हट सिटी (वेलिङटन) का मेयर वेन गप्पीले अपर हट सिटी काउन्सिल सिभिक अवार्डबाट डा.अधिकारीलाई सम्मान गरेका हुन् । डा.अधिकारीलाई मेडल र सर्टिफिकेट समेत प्रदान गरी सम्मान गरिएको थियो ।
सामुदायिक सेवा, कला संस्कृति, शिक्षा, स्वास्थ्य, वातावरण क्षेत्रमा लगाएत युवा लक्षित गतिविधि आदिमा उल्लेखनीय स्वयंसेवाबाट योगदान गरेवापत प्रदान गरिने उक्त अवार्ड स्थानिय तहमा प्रतिष्ठित अवार्ड मानिन्छ ।
न्यूजिल्यान्डका लागि नेपाल सरकारको पर्यटन दूत समेत रहेका अधिकारीले कोभिड महामारीका बेला वेलिङ्टनस्थित स्वास्थ्य मन्त्रालयको सल्लाहकारका रुपमा कोभिड भाइरस रेस्पोन्स र परीक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पब्लिक हेल्थ एसोसिएसन वेलिङ्टनका अध्यक्ष समेत रहेका अधिकारी, एनआरएनए न्यूजिल्यान्डका सल्लाहकार, ह्वाइट रिबन एम्बासडर जस्टिस अफ पिस मार्फत पनि समाजका विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
सिभिक अवार्ड सम्मानले समाजसेवाका लागि थप प्रेरणा मिलेको डा.अधिकारीले बताए । अमेरिकी लेखिका हेलेन केलरको भनाइ उद्धृत गर्दै उनले भने, ’म एक्लो व्यक्ति हुँ, सबै गर्न सक्दिन तर म केही गर्न सक्छु । म एक्लै सबै गर्न सक्दिन भनेर मैले गर्न सक्ने केही गर्न चाहिं अस्वीकार गर्दिन ।’
डा.अधिकारीले नेपालको पोखरा र हट सिटी (वेलिङट) विचको भगिनी सम्बध विस्तार गर्न विभिन्न चरणका कार्यक्रमहरु गरिसकेका छन् । दुवै शहर विचमा पर्यटन क्षेत्र, व्यवसाय, सांस्कृतिक लगाएतका क्षेत्रहरुमा सहयोग पुग्ने उद्धेश्यका साथ दुइ शहर विचको भगिनी सम्बन्धलाई सार्थक र ऐतिहासिक बनाउने कार्यमा लागिपरेको अधिकारीले गाउँले मिडियाका प्रतिनिधिसँग बताएका छन् ।