विकृतिविरुद्ध हास्यव्यङ्ग्यको रुपमा मनाइने गाईजात्राको सुरुवात

  • ख-
  • ख+

काठमाडौं । विकृतिविरुद्ध हास्यव्यङ्ग्यमा मनाइने गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ ।
विशेष गरी नेवार समुदायमा मनाईने गाईजात्रा परम्परागत सांस्कृतिक पर्व का रुपमा वभिन्न कार्यक्रमको आयोजना गरी देशभर भाद्र कृष्ण प्रतिपदादेखि आरम्भ गरिन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, “जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ ।
पोखरा ३० शिशुवा नेवाःखलका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठका अनुसार यस पर्बलाइ सापारु पनि भनिन्छ । बैदिक सनातन धर्मावलम्बि अन्तर्गत भाद्रकृष्ण प्रतिपदा सापारु (सा भनेको गाइ पारु भनेको (प्रतिपदा) का दिनमा बर्ष भरिको मृत आत्मको भलाइको लागि डोकोलाइ सिगारी छोरी मान्छे भए सारी, चोलो लगाइ, छोरा भए कोट, सट लगाइ गाइको फोटो र मृतकको फोटो राखी सिँगार गरेर आफु बसेको टोल, शहर, मन्दिर परिक्रमा गर्ने गरी पितृ उध्द्वार गरिन्छ ।
प्रताप मल्लको नाबालक छोराको मृत्युको शोकमा रहेको महारानी लाइ खुसी पार्न जनताहरुले भगवानको स्वरुप बनाइ घिनताङघिन बाजा बजाइ नाचगान गरेर शोकमा डुबेकी महारानीको परिवारलाई खुसी पार्नको लागि यस पर्वको सुरुवात गरिएको श्रेष्ठले बताए ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायतका शहरमा मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिएको श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्