आजै रातिदेखि मतगणना सुरु हुने

गाउँले मिडिया
  • ख-
  • ख+

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले यस्तो बताएका हुन् ।

आज  बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।  हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए ।

उनले भने, ‘सबैले मत हालौँ । अहिलेसम्मको सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको छ । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न हुन्छ । ७० प्रतिशत भन्दा बढी मतदान हुन्छ भन्नेमा हामी ढुक्क छौँ । आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ । हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरु गर्ने भनेका छौँ । ८ दिन भित्रमा सबै नतिजा दिने तयारीमा छौँ । मंसिर २२ गते भित्रमा सबै नतिजा आउनेछ । अहिले शुरु शुरुमा भएकाले सबै कुरा व्यवस्थित भइनसकेकाले एक जनालाई झन्डै २ मिनेट लाग्ने देखियो । व्यवस्थापन सहजीकरण गर्न आग्रह गर्दछु । ४ मतपेटिका, ४ मतपत्र र ४ ठाउँबाट निस्किनुपर्ने गर्दा केही जटिलता देखिएपनि हामीले समयमा नै यो गर्नसक्छौँ । कर्मचारीहरुलाई शुरु हुँदै गर्दा व्यवस्थापनमा जटिलता जस्तो देखियो, सबै ठाउँमा सबै कर्मचारी खटिएको र मतपत्र दिने ठाउँ नै बढी व्यवस्थित हुनुपर्ने भएकाले खासै त्यस्तो अप्ठ्यारो स्थिति छैन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए । उनले मतदान केन्द्र अहिले सुरुमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी