लेखनाथ महोत्सवमा आईतबार ३० हजार दर्शकद्धारा अवलोकन

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १० पुस । १८ औं संस्करणको लेखनाथ महोत्सवको आईतबार मात्रै ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । बिदाको दिन परेका कारण अघिल्ला दिनहरुको तुलनामा कारोबार पनि राम्रो भएको छ । आईतबार १ करोड २० लाख बढीको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन ।
महोत्सवको तेस्रो दिन आईतबार इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस डे को सार्वजनिक बिदा परेकाले पनि दर्शकहरुको उपस्थिति राम्रो भएको आयोजकको अनुमान छ ।
महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।
आईतबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु कुलेन्द्र बिक, राजन कार्की, प्रेमराज अधिकारी, नारायण सुवाल गायिकाहरु आयुशा गौतम, बन्धना पाण्डे, कमला गैह्रे, बिनु लामाको प्रस्तुति रहेको थियो ।
त्यस्तै हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ठ उर्फ ‘भगवान’को आर्कषक प्रस्तुति रहेको थियो भने लाइभ कन्सर्टतर्फ ¥यापर दिमृती र संजिव सिंह रानाले महोत्सवको माहोल तताएका थिए ।
भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु प्रजापती पराजुली, शंकर विरही गुरुङ्ग, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल गायिकाहरु पुर्णकला बिसी, दिलु मगर, वसन्ती थापा लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम र ओम गुरुङ्गको बेजोड प्रस्तुती रहने भएको छ ।
निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाँडाको नाकमा जारी छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् ।
ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टल राखेका छन् ।
ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले सम्पूर्णमा आग्रह गरेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्