उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, ३ चैत्र । नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।

आजभएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्‍वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनले संघीय संसद्‍तर्फ १८४(१४५३६ मतभार) र प्रदेश सभासदस्य ३२९(१५७९२ मतभार) गरी ३०,३२८ मतभार प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका प्रतिद्धन्द्धि एमालेकी शाक्यले प्रदेशतर्फ १६९(८११२ मतभार) र संघतर्फ १०४(८२१६ मतभार) सांसदको मत पाइन्।

यस्तै, जनमतकी उम्मेद्‍वार झाले प्रदेशतर्फ १५(७२०मतभार) सांसदको पाउँदा संघतर्फ २३(१८१७मतभार) सांसदको मत पाइन्।

उम्मेदवारी निष्क्रिय बनाएकी जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत मात्र पाइन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार भएको मतदानमा जम्मा ८२९ जना मतदातको मत खसेको थियो। संघीय संसद्‍तर्फ ३११ र प्रदेश सभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको हो।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ। यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन्।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनकै रामचन्द्र पौडेल निर्वाचित भएका थिए।

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास उनको भनाइ छ ।

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसहरूप्रति धन्यवाद प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्