जन्म दिनका अवसरमा विद्यार्थीहरुलाई ड्रेस वितरण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १२ असोज । अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक ३२५ एल अन्तरगत रहेको लायन्स क्लब अफ बेगनास तालनगरी र लायन्स क्लब अफ पोखरा बेगनास चौतारीको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई स्पोर्टस ड्रेस वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रत्नशोभा माध्यमिक विद्यालयको कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका विच पोशाक वितरण गरिएको हो ।
लायन्स क्लब अफ बेगनास तालनगरीका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट , पूर्व अध्यक्ष केशव राज तिवारी, पूर्व अध्यक्ष शक्ति श्री तिवारी र क्लबका कोषाध्यक्ष ताराकुमारी आचार्य सुवेदीको र लायन्स क्लब अफ पोखरा बेगनास चौतारीका संस्थापक अध्यक्ष निर्मला क्षेत्रीका स्पाउस राम बहादुर क्षेत्री, सोही क्लबका केषाध्यक्ष दिपा गुरुङकी छोरी कास्वी गुरुङको विभिन्न मितिमा परेका जन्म दिनका अवसरमा उनीहरुको आर्थिक सहयोगमा ड्रेस वितरण गरिएको क्लबका अध्यक्ष अरुण चन्द्र सुवेदीले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरापलिका वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले लायन्स क्लबहरुले आफ्ना सदस्यहरुको जन्म दिनका अवसरमा विद्यार्थीहरुलाई स्पोर्टस ड्रेस वितरण गरिएकोमा खुशी व्यक्त गर्दै यस्ता सेवाका कार्यले हामी सबैलाई प्रेरित गरेको बताए । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका वडा अध्यक्ष लामिछानेले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तरमा वृद्धि गर्न समेत थप टेवा मिल्ने विश्वास व्यक्त गरे ।
आयोजक क्लबहरुलाई धन्यवाद दिंदै अध्यक्ष लामिछानेले विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा सरोकारवाला सबैले जिम्मेवारी बहन गर्न सकेमा सोचे अनुसारको नतिजा प्राप्त गर्न सकिने र यसका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले सहयोगी मनप्रति आभार व्यक्त गर्दै यस्ता मानविय सेवाका कार्यले विद्यार्थीहरुलाई आफ्नो अध्ययन कार्यमा थप हौसला मिल्ने विश्वास व्यक्त गरे । विद्यर्थीहरुको भावना अनुसार शिक्षकहरुले पनि अध्यापन गरेका बताउँदै विद्यार्थीहरुले अनुशासनलाई सदैव कायम राख्नुपर्नेमा जोड दिए ।
लायन्स कलब अफ बेगनास तालनगरीका संस्थापक अध्यक्ष एवम् सोही विद्यालयका शिक्षक ऋषिराम रानाभाटले लायन्स क्लबले गरेका मानविय तथा सामाजिक सेवाका कार्यहरुका वारेमा चर्चा गरेका थिए ।
लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष अरुण चन्द्र सुवेदीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुशी लागेको व्यक्त गर्दै विद्यर्थाीहरु सके सम्म आफ्नै गाउँघरकै विद्यालयमा अध्ययन गर्दा सबै कुराबाट फाइदा हुने कुरा व्यक्त गरे ।
लायन्स क्लब अफ वेगनास तालनगरीका पूर्व अध्यक्ष केशवराज तिवारीले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए भने निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष बास्तोला, शिक्षकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन लायन्स कलब अफ बेगनास तालनगरीका सचिव वर्षा मगरले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

 

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्