समाचारस्वास्थ्य

एन्टीबायोटिकको जथाभावी प्रयोग नगर्न सरकारको आग्रह

Spread the love

काठमाण्डौ, ४ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । किटाणुजन्य रोग निवारणका लागि प्रयोग हुने एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण मानिस र पशुपंक्षीमा जिवाणुहरु बलियो र औषधिको प्रभाव घट्दै गएकाले नियन्त्रणका लागि आग्रह गरेको हो ।

आवश्यक भन्दा धेरै वा थोरै मात्रामा एन्टीवायोटिकको प्रयोगले रोग प्रतिरोध क्षमतामा प्रभाव पार्ने भन्दै जथाभावी प्रयोग नगर्न चिकित्सकहरु सुझाउँछन् । चिकित्सकीय सुझावमा प्रयोग गर्नुपर्ने एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण स्वास्थमा प्रतिकुल असर पर्ने प्रतिवेदन विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । नेपाल लगायत एशिया र अफ्रिकाका विपन्न राष्ट्रहरुमा एन्टीबायोटिकका गलत प्रयोगले वर्षेनी ७ लाख मानिसको मृत्यु हुने गरेको संगठनको तथ्याङ्क छ । यो क्रम नरोकिए सन् २०५० सम्म बर्षेनी १ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ । चिकित्सकीय निगरानीमा प्रयोग गरिनुपर्ने भएपनि सर्वसुलभ भएका कारण एन्टीबायोटिकको गलत प्रयोग हुन थालेको छ ।

आवश्यक भन्दा थोरै या धेरै प्रयोग गरेमा पनि यसले शरीरलाई हानी गर्ने चिकित्सक मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। दिपेन्द्र रमण सिंहले बताउनुभयो । एन्टीवायोटिकको अनुचित प्रयोगको न्युनिकरण गर्न सन् २०१५मा संगठनले विश्वव्यापी रणनीतिक कार्य योजना अपनाएको छ । सोही योजना बमोजिम हरेक वर्ष नोभेम्बर १२ देखी १ सातासम्म सचेतनामुलक कार्यक्रम गरिँदै आएको छ । पशु पंक्षीलाई दिइने एन्टीबायोटिकबाट समेत मानिसको स्वास्थ्यमा समस्या पर्ने गरेको छ । मापदण्ड नर्पुयाइ एन्टीबायोटिक दिइएका पशुको मासु प्रयोगका कारण मानिसमा असर गर्दछ ।

राज्यले भने सो को नियमनका लागि अझै पहल नगरेको पशु सेवा विभागका उप महानिर्देशक सम्झना काफ्लेले बताउनुभयो । एन्टीबायोटिक प्रयोगमा हुँदै आएको लापरवाहीबारे मन्त्रालयले चासो देखाएपनि व्यवस्थापकीय पहल नभएको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताउनुभयो ।

Related Articles

Close