मनोरञ्जन

पश्चिम बंगालको सिलगुडीमा ‘पोखरा नाइट’

काठमाण्डौ, माघ २४ ।

भारत, पश्चिम बंगालको सिलगुडीमा जारी बंगाल ट्राभल मार्ट (बिटिएम) मा ‘पोखरा नाइट’ आयोजना गरिएको छ जसमा चार देशका पर्यटन व्यवसायीले भरपूर मनोरञ्जन लिएका छन् । नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन व्यवसायीबीच व्यापार प्रवर्द्र्धन गर्ने उद्देश्यले सिलगुडीमा बंगाल ट्राभल मार्ट आयोजना गरिएको हो । अफगानिस्तानदेखि भारतको उत्तरपूर्वी राज्य भएर भुटानसम्म फैलिएको मनमोहक हिमश्रृंखलामा संयुक्त रुपमा पर्यटनको विकासका लागि साझा नीति बनाउनु मार्टको मुख्य उद्देश्य हो ।

चार देशबाट जम्मा भएका प्रतिनिधिले आ–आफ्नो देशको पर्यटकीय स्थलहरुको प्रस्तुति दिने क्रममा मार्टमा नेपालको तर्फबाट पनि ‘पोखरा नाइट’ आयोजना गरिएको थियो ।

चिटिक्कै भाछु रे, पोते र चुराले……’ गीतसँग शुरु भएको पोखरा नाइटमा गीत सँगै पर्यटकीय आकर्षणका दृष्यले कार्यक्रममा उपस्थित दर्शकहरुलाई नेपालप्रति मोहित बनाएको थियो ।

पोखराको माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, सराङकोटबाट चराझैं उडेका प्याराग्लाइडिङ, फेवातालको डुङ्गा शयर, बन्जिजम्प, जिप फ्लाइ, पदयात्रा आदिका मनोरम दृश्यहरू देखाइरहँदा मित्रराष्ट्रका पर्यटक लोभिएका देखिन्थे ।

पोखरा नाइटमा पोखरा र त्यहाँका संस्कृतिका विविध पक्षबारे जानकारी गराइरहँदा पोखरेली र अन्य देशका पर्यटन व्यवसायीबीच बिटुवीमार्फत ब्यवसाय आदानप्रदान गर्दै साझेदारीमा सहमती भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेले बताए ।

संस्कृति, पर्यटकीय आकर्षणहरुलाई सार्क राष्ट्रमा हवाई र सडक सन्जालमार्फत जोड्न सके पर्यटक आगमनमा बृद्धि हुने नेपाल पर्यटन बोर्ड पोखराका प्रवन्धक सूर्य थपलिया बताउँछन् ।

उत्तरपूर्वी भारतका राज्यबाट धेरै पर्यटक नेपालको भ्रमणमा आउने गरेका छन् । पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ अन्तर्राष्ट्रियस्तरमा देशलाई समेटर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

सार्क राष्ट्रबाट नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश भारतका छन् ।

बंगाल ट्राभल मार्ट माघ २६ गतेसम्म चल्ने छ । मार्टका बांकी कार्यक्रम बिहीबारदेखि उत्तरपूर्व भारतकै गुहाटी र आसपासका क्षेत्रमा गरिने छ ।

Related Articles

Back to top button
%d bloggers like this: