समाचार

काठमाडौंका दुई स्थानमा सिलिन्डर बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

काठमाण्डौ, १२ जेठ ।
सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर बम पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा ढलाने पुलनजिकको सटरभित्र र अनामनगरमा कोठाभित्र सिलिन्डर पड्किएको हो । मृतकको सनाखत भइसकेको छैन । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले सोमबारका लागि आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेका सिलिन्डर बमहरु पड्किएका प्रहरीले जनाएको छ । घटनास्थलहरुमा प्रहरी टोली खटिएका छन् । घटनाको अनुसन्धान जारी छ । स्थानीयका अनुसार विस्फोटको ठूलो आवाजले आसपासका घरका सिसासमेत फुटेका छन् ।
सरकारले आफ्ना गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै दमन गरेको भन्दै चन्द समूहले जेठ १३ गते बन्द आह्वान गरेको हो । मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि घाइते तीर्थराज घिमिरेको बुधबार मृत्यु भएको थियो । घिमिरेको खुट्टामा गोली लागेको प्रहरीले बताएको थियो ।
उक्त जंगलमा चन्दका समूहका केही दर्जन कार्यकर्ता हातहतियारसहित बसेको सूचनाका अनुसार प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय भोजपुरका टोलीले गस्ती गरेका थिए । त्यसक्रममा प्रहरीमाथि नै आइलागेपछि गोली चलाइएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: