
जेठ २४, काठमाडौं ।
ललितपुरको कुमारीपाटीस्थित मेगा नेशनल कलेजको आयोजनामा यही जेठ २५ र २६ गते राजधानीमा व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना र चुनौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिने भएको छ।
मेगा नेशनल कलेजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी दिएको हो। कलेजका क्याम्पस प्रमुख डा.घनश्यामप्रसाद साहले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरुका लागि उपयोगी हुने बताए। यही जेठ २५ र २६ गते कलेज परिसरमा चल्ने सम्मेलनमा दुई हजार दुई सय विद्यार्थी सहभागी हुने जानकारी दिए।
सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरुको पनि सहभागीता हुनेछ। व्यवस्थापन र प्रविधिको क्षेत्रमा संसारभर भए गरेका अभ्यासबारे जानकारी लिन, नेपालको अनुभव आदानप्रदान गर्न तथा व्यवस्थापनमा रुचि रहेका विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्न सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख साहको भनाइ छ। कलेजले आयोजना गर्ने यस खालको सम्मेलनबाट विद्यार्थीलाई आगामी दिनका लागि अनुसन्धान कार्यका लागि सहयोग पुग्ने समेत उनले बताए।