मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व आज मनाँउदै

साउन २७ ।
’ईद ऊ जोहा’ अथवा ’ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ । यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।
आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समूदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाईहरूलाई डाँकेर मुस्लिम विशेषताले भरीएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् । वहूभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।
यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका सामिप्यता रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर ईद लाई केवल कुबानी अर्थात वलीसंग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात जीवन लिनु मात्र नभई जीवनको मुल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीहरूमा गाउँले मिडियाको ’इद उल जोहा’को शुभकामना !