मुग्लिनबाट पोखरासम्मै चार लेन सडक! ठेक्काको तयारी अन्तिम चरणमा

काठमाण्डौ, २८ भदौ ।
पोखराको क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थललाई लक्षित गर्दै मुग्लिन(पोखरा सडक चार लेन बनाउने भएको छ। मुग्लिनदेखि पोखरासम्मै चार लेनको सडक निर्माण गर्न लागिएको भए पनि पहिलो चरणमा आँबुखैरेनीबाट पोखरा खण्ड निर्माण हुनेछ भने दोस्रो चरणमा मुग्लिन( आँबुखैरेनी खण्ड विस्तार हुनेछ। आयोजनाका अनुसार मुग्लिनदेखि आँबुखैरेनी सडक खण्डमा मर्स्याङदीको पावर हाउस पर्छ। त्यहाँको भौगोलिक बनोट अत्यन्त जटिल भएकोले त्यहाँ सडकको विकल्प खोजिने भएको छ। आयोजनाले यो खण्डको विकल्प खोज्दै कन्सल्ट्याण्ट नियुक्त गरेर काम सुरु गरिसकेको छ।
मुग्लिनदेखि आँबुखैरेनीसम्म मर्स्याङदीको बायाँ किनारमा जाने निर्णय भएको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) उपआयोजना प्रमुख सुरेश पौडेलले जानकारी दिए। उनका अनुसार दुईलेन अहिलेको विद्यमान सडक हुन्छ भने दुईलेन मर्स्याङदीको बायाँ किनारमा निर्माण हुनेछ। आयोजनाका अनुसार आँबुखैरेनीदेखि पोखरासम्मको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। कोरियन इन्जिनियरिङ कन्सल्ट्याण्टले डिपिआर तयार पारेको हो। डिपिआर तयार भइसकेकाले पहिलो चरणमा आँबुखैरेनी देखि पोखरासम्मको काम अघि बढाइने भएको छ भने दोस्रो चरणमा मुग्लिन ( आँबुखैरेनी सडक विस्तार गर्ने योजना बनाईएको हो।
’आँबुखैरेनीदेखि पोखरासम्मको इस्टिमेट तयार पारिसकेको छौ। छिट्टै ठेक्का निकाल्ने तयारीमा छौ,’ पौडेलले भने। त्यस्तै एडीबीसँग ऋण सम्झौता गर्ने अन्तिम तयारी भएको आयोजनाले जनाएको छ। सम्झौता गर्नुअघि पहिलेको ’लोन नेगोशिएसन’ भैसकेको छ। लोन नेगोशिएसन हुनु भनेको सम्झौंता निश्चित हुनु जस्तै भएको आयोजनाका अधिकारीहरु बताउँछन्।’डकुमेन्ट सबै तयार भैसकेको छ।नोभेम्वरमा औपचारिक सम्झौता हुन्छ’ उपप्रमुख पौडेलले भने।