समाचारखेलकुुद

बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

फाल्गुन १७, सुनसरी ।  धरान रंगशालामा शनिबार सम्पन्न बुढासब्बा टुबोर्ग गोल्डकपको २२ औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ । नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै मनाङ मर्स्याङ्दीले नगद १० लाख रुपैयाँ र ट्रफी र मेडलसहित प्रमाणपत्र पनि पायो ।

बुढाससब्बा गोल्डकपमा मनाङ मर्स्याङ्दीको यो चौथो जित हो भने लिगपछिको पहिलो उपाधि हो । पाँच पटकको विजेता पुलिस भने यो सिजनको बुढासुब्बामा उपविजेतामा सिमित हुँदा नगद ५ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्‍यो।

उपाधिका लागि मनाङ मर्स्याङ्दीका दयानन्द सिंहले पहिलो हाफको ११ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । दयानन्दले पुलिसका गोलरक्षक संजित श्रेष्ठले गरेको सानो गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । श्रेष्ठले हातमा भएको बल पेनाल्टी एरियामा राखेर टाइम पास गर्न खोज्दा तीव्र गतिमा आएका दयानन्दले प्रहार गरेको बलले जाली चुमेको थियो । दोस्रो हाफको ४९ औं मिनेटमा विमल रानाको क्रस पासमा निशान लिम्बुले दोस्रो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी टाइममा विमल रानाले गोल गरे ।

पुलिसका भोला सिलवालले दोस्रो हाफको ६७ औं मिनेटमा पेनाल्टीमार्फतगोल गरे । मनाङ मर्स्याङ्दीले पेनल्टी एरियामा हेन्डबल गरेपछि भोलाले पाएको पेनाल्टी बललाई गोलमा परिणत गरेका थिए ।

मनाङले प्रदेश १ मुख्यमन्त्री कपको लिग उपाधि विजेता मोरङको बेलबारी फुटबल क्लबलाई पहिलो खेलमा ४–० ले र दोश्रो खेलमा युनाइटेड कर्साङ फुटवल क्लब भारतलाई सेमिफाइनलमा २–० ले हराउँदै फाइनलमा पुगेको थियो । विभागीय पुलिस क्लबले पहिलो खेलमा झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोलले र दोश्रो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई सडेन डेथमा पराजित गरेर फाइनलमा पुगेको थियो ।

उपविजेतामा चित्त बुझाएको पुलिसले धरान रंगशालामा मनाङ मर्स्याङदीविरुद्ध जुमानु राई, भोला सिलवाल र सुमन सुवेदीजस्ता अनुभवी र दर्शकले चिनेका चिरपरिचित खेलाडीका साथ बाँकी सबै नयाँ अनुहार उतारेको थियो । तीन जनाबाहेक अरु सबै खेलाडीका लागि बुढासुब्बा गोल्डकप नै पहिलो अनुभव थियो ।

विदेशी कोचबाट प्रशिक्षित मनाङ मर्स्याङ्दीका खेलाडीहरुले भने अनुभवी साबित गर्दै पुलिस टोलीलाई उपविजेतामा सिमित राख्न सफल भए ।

गोल्डकपको समापन समारोहमा बुढासब्बा गोल्डकपको खेल अवधिभरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरियाे । प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी घोषित मनाङ मर्स्याङ्दीका सुरज विकलाई होण्डाको डिइयो स्कूटी एकथान प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभरमा सर्वाधिक ४ गोल गर्ने मनाङकै दयानन्द सिंले नगद ३५ हजार रुपैयाँ हात पारेका थिए ।

प्रतियोगितामा वेस्ट गोल अफ द डे घोषित मनाङका विमल रानाले नगद ५ हजार रुपैयाँ, म्यान अफ द म्याच मनाङकै अन्जन विष्टले नगद १५ हजार रुपैयाँ हात पारे । यसैगरी बेस्ट गोल किपर मनाङकै अशोक बराल, बेस्ट डिफेन्स नेपाल पुलिसका पुजन उपर्कोटी, बेस्ट मिड फिल्डर मनाङका पुजन, बेस्ट फर्वार्ड पुलिसका जुमानु राई, बेस्ट कोच मनाङका फुजा टोपेले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेताहरुलाई मुख्यमन्त्री शेरधन राई, आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोरकुमार राई, प्रतियोगिताका संयोजक धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी एन्फाका अध्यक्ष कर्मा छिरिङलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: