समाचार

कोरोना महामारी कायमै छ, पर्याप्त सतर्कता अपनाउनुहोस् : डब्लूएचओ

असार ८, काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को नेपालस्थित कार्यालयले कोरोना भाइरस(कोभिड–१९) को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एकापसमा भेटघाट बढेको भन्दै उनले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए । उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्ना तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औंल्याए । भीडभाडमा नजान, जानै परे दूरी कायम गर्न मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि उनले आग्रह गरेका छन् ।

लकडाउन खुकुलो भएसँग भेटघाट बाक्लिएको उल्लेख गर्दै उनले भने, ‘हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकि यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् ।’

कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि लकडाउन एउटा उपाय भएको उल्लेख गर्दै सबैजना सतर्क भए यसको रोकथाम गर्न सकिने उनले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: