समाचार

कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन, प्रधानमन्त्री ओली राजावादीसँग मिलेको देउवाको आरोप

मंसिर २८, काठमाडौं : प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देश भर विरोध प्रदर्शन गरेको छ ।

सरकारले कोरोना महामारीमा पनि जनताको जिउ धन जोगाउन नसकेको, भ्रष्टारमा लिप्त भएको, संसदलाई बन्दी बनाएको, सर्वसत्तावादीको बाटोमा गएकोलगायत आरोप लगाउँदै आज (सोमबार) ७७ वटै जिल्लामा प्रदर्शन गर्‍यो।

आज नेपाली कांग्रेसले देशभर हजारौँ कार्यकर्ता सडकमा उतारेको हो ।  यसै विच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ ।

सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको भन्दै प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको त होइन ? भन्नुभयो ।

‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’ आफ्नै शैलीमा देउवाले भन्नुभयो, ‘कसैलाई भ्रम नहोस्, राजा आउनेवाला छैन ।’

राजाले प्रजातन्त्र नसहेकै कारण कांग्रेस गणतन्त्रमा जानु परेको प्रष्टीकरण दिँदै सभापति देउवाले प्रजातन्त्रविरुद्ध नजाऔंभन्दा तत्कालिन राजाले आफूलाई थुनेको दाबी पनि गर्नुभयो ।

वर्तमान नेकपाको सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै देउवाले कम्युनिष्टले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेर आफूले भनेको मिल्न थालेको बताउनुभयो ।

ओली सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै देउवाले कोरोना जस्तो महामारीमासमेत सरकारले लाजमर्दो भ्रष्टाचार गरेको बताउनुभयो ।

देशभर बलात्कारका घटना बढ्दा पनि सरकार संवेदनशील बन्न नसकेको भन्दै उहाँले निर्मला पन्त हत्या प्रकरणमा नेकपाकै मान्छे त संलग्न छैन भन्ने आशंका गर्नुभयो । कोरोनाका समयमा बाध्य भएर सडक प्रदर्शन गर्नुपरेकामा उहाँले जनतासँग माफी पनि माग्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘पञ्चायतमा रूख रोप्दा टाउको फुटालिन्थ्यो, कम्युनिस्ट शासनमा पुल बनाउँदा करंग भाँचियो ।’

सत्ताको घोर दुरूपयोग भएको र त्यो स्वीकार्य नहुने भन्दै पौडेलले भन्नुभयो, ‘कम्युनिष्टलाई कुनै मुद्दा कानुन लाग्दैन, राज्यको ढुकुटी मासेर, तहगत सरकारको अधिकार खोसेर, गाइजात्रा देखाएर सत्ताको दुरूपयोग गरिएको छ ।’

राजावादीहरुको प्रदर्शनप्रति इग्गित गर्दै पौडेलले सडकमा जथाभावी उल्टा नारा लाग्नु विचित्रको छ, ७० वर्षको अथक प्रयासबाट कायम गरेको व्यवस्थामा धावा बोलिन थालेको बताउनुभयो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: