समाचार

संसद विघटनको विरोधमा पोखरा र वीरगञ्जमा प्रदर्शन

पोखरा, पुस ५ । संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले संयुक्तरुपमा पुत्ला जलाएका हुन् ।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । विद्यार्थीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेपले केहिबेर अवस्था असमान्य बनेको थियो ।

प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरुले क्याम्पसभित्रबाट ढुंगा हानेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले थप बल झिकाएको थियो ।

झडपका दौरान समाजवादीका विद्यार्थी नेता नेत्र चापागाइँले प्रहरीको लट्ठी खोसेरै उनैलाई हिर्काउने प्रयास समेत गरेका थिए ।

यसै विच संसद विघटनको बिरोधमा आइतबार वीरगञ्जमा पनि प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन ।

उनीहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन मांग गरेका छन् । प्रदर्शनकारीहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्क्षेप गरेको थियो ।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर सामान्य झडप भई तनाव समेत सृजना भएको थियो । सोही क्रममा प्रहरीले नेकपा पर्साका युवा नेता मनोज चौधरीलाई केही बेर नियन्त्रणमा समेत लिएको थियो ।

संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको प्रदर्शनकारीमा सहभागीहरुले बताएका छन् । विरोध प्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव बिजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादव लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: