
लेखनाथ , १० पौष । लेखनाथ पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको लेखनाथ पत्रकारिता पुरस्कार यो वर्ष नेपाल टेलिभिजनका कास्की सम्वाददाता पशुराम शर्मा आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।
लेखनाथ पत्रकार मञ्चले मञ्चका अध्यक्ष भीमपाणि बरालको संयोजकत्वमा भरतप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्यसंघका भरतराज ओझा,पुर्व पुरस्कृत व्यक्ति रामप्रसाद तिमिल्सेना मञ्चका सचिव विष्णुहरि पौडेल रहेको पुरस्कार छनोट समितिको शुक्रवार बसेको बैठकले पत्रकार आचार्यलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
कविशिरोमणि लेखनाथ पौडेलको १३७ औं जन्मजयन्तीका अवसरमा पुस १५ गते अर्घौ अर्चलेमा हुने मुल समारोहमा उक्त पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । पुरस्कारको राशी ११हजार एक सय ११ रुपैयाँ रहेको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा वि स २०२४ सालमा जन्मेका आचार्यले वि सं २०५० साल देखि दाङबाट पत्रकारिता सुरु गरेका थिए । उनी वि सं २०५३ साल देखि नेपाल टेलिभिजनमा कार्यरत छन् ।
वि सं २०७३ साल देखि हरेक वर्ष प्रदान गरिदै आएको उक्त पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बशन्तराज अधिकारी र वाशुदेव पौडेलले प्राप्त गरिसकेका छन् ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३७ औं जन्मजयन्ती समारोह अन्तर्गत यही पुस १३ गते अर्घाैचोकमा रहेको प्रतिमामा सरसफाई, १४ गते कविको घरको सरसफाई र पुस १५ गते मुल समारोह गर्ने कार्यक्रम तय गरिएको छ ।