समाचार

२५ जनाभन्दा बढी जम्मा हुन रोक,पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न सकिने

होटल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने

काठमाडौँ , वैशाख ६— सरकारले पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त आदेशबारे जानकारी दिँदै भने, ‘विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालन गरी सञ्चालन गर्ने ।’

त्यस्तै, ठूला नगरपालिका तथा सहरका शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम बैशाख महिनासम्म अन्त्य गर्नुपर्ने आदेश गरेको मन्त्री गुरुङले जानकारी दिए ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई भने वैशाखभर बन्द गर्नुपर्ने उनले बताए । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने/गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न आदेश जारी भएको छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा भनिएको छ ।

मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ ।

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध गराउन पाउने भनेको हो ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश भएको हो । आदेशमा रहेका व्यवस्थाबारे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाउने आदेश भएको बताए ।

त्यस्तै, सार्वजनिक यातायात तथा हवाइ यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य स्यानिटाइजरको प्रयोग गर्नुपर्ने आदेश सरकारले गरेको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवम् व्यवस्थापकले बढीमा १० रुपैयाँ लिइ मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको मन्त्री गुरुङले बताए । लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र यात्रु संख्या कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई जानकारी दिनुपर्ने पनि आदेश भएको छ ।

हवाइजहाजका यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र हवाइजहाजमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा छ । त्यस्तै, उडानपछि अनिवार्य रूपमा विमान, यातायातको सधान र ब्यागेजको डिसइन्फेक्ट गर्नुपर्ने आदेशमा रहेको मन्त्री गुरुङले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: