कोभिड बिरामीकाे सेवामा व्यवसायी थापाद्धारा फोर्स मोटर्सका ३ जिप प्रदान

पोखरा, जेठ २ । हिमालय अर्गनाइजेसन तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष पाेखराका स्थापित युवा व्यवसायी ध्रुव थापाले फोर्स माेटर्सका ३ वटा जिप काेभिडका बिरामीकाे सेवाका लागि निशुल्क प्रदान गरेका छन्।
कोभिड महामारीको दोस्रो लहरसँगै संक्रमित दिनप्रतिदिन बढिरहेकाे अवस्थामा उनले ग्रामिण क्षेत्रका काेभिडका बिरामीले प्रयाेग गर्ने गरी काेभिड अवधिभर ती जिप निशुल्क प्रदान गरेका छन्।
अध्यक्ष ध्रुवबहादुर थापा र प्रबन्ध निर्देशक मिलन थापाले फोर्स माेटर्सका २ वटा जिप शनिबार नेपाली काँग्रेस कास्कीलाई हस्तान्तरण गरे। अर्काे १ थान फोर्स जिप लायन्सले पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथमा स्थापना गर्न लागेकाे १ सय बेड क्षमताको

कोभिड अस्पतालका लागि छिटै हस्तान्तरण गर्ने थापाले बताए ।कोभिडको विषम परिस्थितिमा बिरामीहरुलाई गाउँहरूबाट हस्पिटलसम्म पुर्याउन सहज हाेस भन्ने उदे्श्यले यी फोर्स जिप एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी सहयोग गरेको बताइएकाे छ।
कोभिड महामारीको समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै थापाले आवश्यकता अनुसार आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। लायन्सका पूर्व गभर्नरसमेत रहेका थापाले अन्य २ वटा फोर्स जिपसमेत एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी सहयोग गर्ने तयारी गरेका छन् । कोभिड अवधिभर प्रयोग गर्ने गरी विभिन क्षेत्र समेटेर ५ वटा जिप सहयोग गर्ने योजना थापाले बनाएका हुन् ।थापाले आफू लायन्सको गभर्नर हुँदा फोर्स मोटर्सका करिब एक करोड रुपैयाँ बराबरका ३ वटा अत्याधुनिक एम्बुलेन्स गण्डकी, धौलागिरी र बागमती क्षेत्रमा चलाउने गरी सहयोग गरेका थिए । जुन एम्बुलेन्सले अहिलेसम्म पनि सेवा पुर्याइरहेका छन् ।