लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प,भागाभाग

५ जेठ, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।
उनका अनुसार भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको छ । पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।
अहिले हामी पनि विवरण संकलन गर्दैछौं ।’ उनले भने ‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्यायो कि पुर्याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।’
भूकम्पको धक्का काठमाडौंमा पनि महसूस गरिएको छ ।