
ऋषिराम रानाभाट
लेखनाथ, ११ जेठ । पोखरा महातनगरपालिका वडा नं.२८ को वडाबाट आ.ब.०७७/०७८ का लागि कृषि क्षेत्रमा विनियोजित बजेट रु ४ लाख मध्येबाट कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी वडा नं.२८ मा रहेका टोल टोलका प्रतिनिधिमुलक उत्पादनमुखी कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको हो ।
वडाको पचास प्रतिशत लागत र कृषकको पचास प्रतिशत लागतमा वडा नं.२८ का कृषकलाई ५० थान प्लाष्टिक टनेल र कोभिड १९ का कारण वैदेशिक रोजगार गुमाएका आर्थिक रुपमा अति विपन्न कृषकलाई निशुल्क १४ थान टनेल गरी ६४ थान टनेल वितरण गरिएको हो ।
वडा अध्यक्ष निर्मल दियाली, वडा सदस्य अम्बिका बुडाथोकी, वडा सदस्य विष्णु प्रसाद तिवारी , कृषि सञ्जालका अध्यक्ष इन्द्र प्रसाद गौतमको रोहबरमा वितरण गरिएको थियो भने यस भन्दा पहिला वडाका कृषकलाई ८५० वटा कुखुराका चल्ला समेत वितरण गरिएको वडा कार्यलयका कम्प्युटर अपरेटर सबिन भुजेलले जानकारी दिनु भयो ।