कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो।
नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला विमलेन्द्र निधि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन्।
चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदामा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए।
त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रियसभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता भएको हो। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ। आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ।
नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ।
सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।