समाजगण्डकी प्रदेश

आमसञ्चार विधेयक पत्रकारको हितमा ल्याइने ः मन्त्री थापा

पुस २८, पोखरा–गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आमसञ्चार विधेयक पत्रकारको हितमा ल्याइने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा बुधबारदेखि सुरु भएको सात दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री थापाले उक्त कुरा बताउनु भएको हो ।
आमसंचार विधेयक अहिले विचाराधिन अवस्थामा रहेको र विद्यायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराउनु भयो । पत्रकारिता जगतका विज्ञहरुलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफु रहेको पनि मन्त्री थापाले सो अवसरमा बताउनु भयो ।
पोखरा लगायत गण्डकी प्रदेशमा संचालनमा रहेका मिडियाहरुले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ ।
पत्रकारिताको मर्यादा भित्र रहेर काम गर्न पत्रकारलाई आग्रह गर्दै मन्त्री थापाले पत्रकारिता क्षेत्रमा पनि विकृति विसंगति मौलाएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।
यसै गरी नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष तथा आधारभूत पत्रकारिता तालिमका प्रशिक्षक धर्मेन्द्र झाले पत्रकारितालाई समाजसँग जोड्न आवश्यक रहेको बताउनु भयो । झाले हालको नेपाली पत्रकारितालाई नेपाली समाज र जनतासँग जोड्न नसकिएको बताउँदै मिडियाकर्मी र मिडिया जिम्मेबार हुनुपर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले महासंघ कास्की उत्पादनमुखी पत्रकारिताको पक्षमा रहेको उल्लेख गर्दै पत्रकारिताको पेशालाई मर्यादित बनाउने पक्षमा आफू रहेको बताउनु भयो । भण्डारीले आमसंचार विधेयक पत्रकारको हित अनुरुप नै आउनेमा आफू आशावादी भएको बताउनु भयो ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गर्नु भएको कार्यक्रममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेकोछ । तालिम आगामी माघ ४ गते सम्म संचालन हुनेछ ।

Related Articles

Back to top button
%d bloggers like this: