समाचार
पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँको आदेश

काठमाडौं, १० चैत्र । नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले शाहलाई थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राप्त प्रमाणबाट शाहलाई कसूरदार देखिएको भन्दै थुनामा राख्न आदेश दिएको हो । शाहमाथि एकजना नाबालिक गायिकामाथि बलात्कार गरेको अभियोग छ । शाहले बयानमा उक्त आरोप अस्वीकार गरेका छन् ।
पल शाहविरुद्ध नाबालिक गायिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजूरी दर्ता गरेका थिए । त्यसपछि शाहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बलात्कारको अभियोगपत्र दर्ता गरेको हो ।