
काठमाडौँ — निर्वाचन अयोगले आइतबार स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेको छ। सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार स्थानिय तहको निर्वाचनका लागि कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने भएका छन्।
त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरूष मतदाता छन्। ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेको अर्यालले बताए। यस्तै १८३ जना अन्य छन्। चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।
प्रदेश अनुसार सबैभन्दा धेरै मतदाता बागमतीमा छन्। बागमतीमा ३४ लाख १२ हजार ८६९ जना मतदाता छन्। प्रदेश नम्बर १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७०, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ र गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ जना मतदाता छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० र कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। आयोगका अनुसार काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ८९ हजार ५८४ मतदाता छन्।
मनाङमा सबैभन्दा थोरै मतदाता रहेका छन्। ६ हजार ४९६ मतदाता मनाङबाट छन्।