
लेखनाथ/१८ चैत । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा एक दिने नेतृत्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वेगनासताल महिला समूहको आयोजना र पोखरा महानगरपालिको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम वेगनासताल महिला समूहको सभाहलमा शनिबार सम्पन्न भएको हो ।
वडा नं.३१ का सचिव एवम् प्रशिक्षक दुर्गा न्यौपानेले नेपाली समाजमा अझै पनि महिलाहरुलाई पर्दा पछाडि पारिएको बताउँदै आधा धर्ती ओगटेको महिलाले आधा अधिकारी पाउनुपर्ने बताइन् । महिलाहरुमा क्षमता भएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न नपाएको प्रति पनि गुनासो गरिन् । महिलाहरुले जस्तो सुकै समस्या सहेर पनि समाजम सञ्चालनमा ठूलो भुमिका निर्वाह गरेको बताउँदै दाजुभाई र दिदीबैनीहरु एक आपसमा हातेमाले गरी समाजमा भएका विद्येमान महिला हिंसा हटाउनुपर्ने कुरामा जोड दिइन् । समाज विकासका कार्यमा महिलाहरुले निस्वार्थ रुपमा योगदान दिएको चर्चा गर्दै महिलाहरुको क्षमता अभिवुद्धि गर्नका लागि पुरुषहरुले सहयोग गर्नुपर्ने बताइन् ।
वेगनासताल महिला समूहकी अध्यक्ष दुर्गा देवी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा साउने वरेली खानेपानी संस्थाका अध्यक्ष कृष्ण तिमिल्सिना, सञ्चारकर्मी ऋषिराम रानाभाटले वेगनासताल महिला समूहले गरेका समाजिक कार्यहरुको चर्चा गरेका थिए । समूही पूर्व अध्यक्ष विष्णु मायाँ तिवारीले स्वागत गरेकी थिइन् भने समूही उपाध्यक्ष पुजा खतिवडाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।