समाचारसमाज

आज स्थानीय तह निर्वाचन

काठमाडौं । आज देशैभरका ७५३ स्थानीय तहको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा भएको थियो ।

निर्वाचन आयोगले शुक्रबार९आज० बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको छ । सरकारले गत माघ २४ गते देशका ७५३ वटै स्थानीय तहमा एकै चरणमा २०७९ बैशाख ३० गते निर्वाचन गर्ने घोषणा गरेको थियो । सोही बमोजिम आज स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

२०७४ को स्थानीय तह निर्वाचन बैशाख ३१,असार १४ र असोज २ गते गरेर तीन चरणमा भएको थियो । तर यसपटक भने एकै चरणमा निर्वाचन हुन लागेको हो । केही स्थानीय तहमा उम्मेदवारको मृत्यु भएपछि भने आयोगले ती स्थानीय तहको निर्वाचन कार्यक्रम संशोधन गरेको छ ।

निर्वाचन आयोगका अनुसार २९ बैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको छ । जसमा महिला ८७ लाख ४१ हजार ५ सय ३० जना,पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १ सय ८३ जना रहेका छन् ।

यसपटक ७ सय ५३ स्थानीय तहमा निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् । जसमध्ये  ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।

सरकारले स्थानीय तह निर्वाचनका लागि शान्ति सुरक्षा मजबुत बनाइएकाले भयरहित वातावरणमा मतदानमा भाग लिन सबैलाई आग्रह गरेको छ भने निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक सबै तयारी पूरा भैसकेको जनाएको छ ।

७५३ स्थानीय तहमा महानगर पालिकाको संख्या ६,उपमहानगर पालिकाको संख्या ११,नगरपालिकाको संख्या २७६ र गाउँ पालिकाको संख्या ४६० रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: