पोखरा, २३ जेठ । पोखरा महानगरपालिका वडा नं.३० शिशुवा स्थित न्यू लाईट बोडिङ स्कुलले सदन विभाजन गरेको छ ।
प्रत्येक शैक्षिक सत्रमा शैक्षिक तथा खेलकुदको क्षेत्रमा विद्यार्थीहरुको सर्वाङगीणी विकासका लागि सदन विभाजन गरी शैक्षिक तथा खेलकुदका क्रियाकलापहरु गर्दै आएको स्कुलले शैक्षिक सत्र २०७९ का लागि एक कार्यक्रमका विच सदन विभाजन गरेको हो । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई रातो, हरियो , पर्हेलो र सेतो रङ्गको आधारमा सदनमा विभाजन गरिएको हो । प्रजातान्त्रिक विधिबाट कक्षा १० की विभुषणा ताम्रकार विद्यालयको क्याप्टेनमा निर्वाचित भएकी थिइन् भने कक्षा १० कै अमिक गुरुङ्ग विद्यालयको भाइस क्याप्टेनमा निर्वाचित भएका छन् ।
विद्यालयका निर्देशक नविन कुमार देवानले नवनिर्वाचित क्याप्टेन, भाइस क्याप्टेन र सदन प्रमुख र उपप्रमुखलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै विद्यालयमा विद्यार्थीको सर्वाङ्गीणी विकासको लागि अतिरिक्त क्रियाकलापको ठूलो महत्व हुने बताए । यसै गरी विद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद बास्तोलाले कक्षा कोठामा शिक्षण सिकाइको अलवा विद्यार्थीहरुको चौतर्फी विकासको लागि सदन विभाजन गरी विभिन्न शैक्षिक एवम् खेलकुदका कार्यक्रमहरु गर्दै आएको बताए । यस शैक्षिक सत्रमा पनि विद्यार्थीहरुलाई खेलकुदका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिंदै अनुशासित भएर आफ्नो सदनलाई सफलता हासिल गराउन सदन प्रमुख र उपप्रमुखको महत्वपूर्ण जिम्मेवारी हुने बताए ।
सोही कार्यक्रममा +२ संयोजक रामकुष्ण कोइरालाले यस कार्यक्रमले विद्यार्थीहरुमा जिम्मेवारी बोध हुने विश्वास व्यक्त गर्दै विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई अनुशासनमा राख्न सिकाउने विचार व्यक्त गरे । यसै गरी शैक्षिक प्रमुख अरुण चन्द्र सुवेदीले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागी हुन सबै विद्यार्थीहरुलाई आग्रह गर्दै आपसमा झैझगडा नगरी स्वच्छ प्रतिस्पर्धाबाट सफलता हासिल गर्न सकिने कुरामा जोड दिए ।
अतिरिक्त क्रियाकलाप प्रमुख पूर्णभद्र सुवेदीले सञ्चालन गरेको कार्यक्रम विद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने निर्वाचन अधिकृत शिवचन्द्र घिमिरे रहेका थिए ।