
लेखनाथ / २९ जेठ । पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडावासीको सपना पूरा गर्ने बताए।
शिशवा नेवाःखल ले आयोजना गरेको वडा नं.३० का जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुवेदीले उक्त कुरा बताएका हुन् । सबैको सल्लाह, सुझाव र सहयोगले नै वडाको विकास गर्न सकिने बताउँदै प्राथमिकताको आधारमा कार्यक्रमहरु छनौट गरी योजना तर्जुमा गर्दा आवश्यक सल्लाह र सुझाव दिन पनि आग्रह गरे ।
िशशुवा नेवाःखलले शिलान्यास गरेको संग्रालय निर्माणमा आवश्यक सहयोग गर्ने पनि वडा अध्यक्ष सुवेदीले बताए । यसै गरी दलित महिला सदस्यमा निर्वाचित उमा परियारले वडामा बसोबास गर्ने सबै जातजातिलाई समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गर्दै वडावासीको चाहना अनुसार काम गर्ने बताइन् । नेवाःखलले आवश्यकता अनुसार आय आर्जन तथा सिपमुलक जस्ता कार्यक्रमहरु वडामा माग गरेमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै खुला सदस्य बिनोद लामिछानेले जनताले दिएको विश्वास र भरोसालाई खेल जान नदिने प्रतिबद्धता व्यक्त गर्दै नजानेर कहीं कतै गल्ति गरेमा झक्झकाउन आग्रह गरे ।
नेवाःखलका अध्यक्ष भुवन श्रेष्ठले जनप्रतिनिधसँग सबै समुदायको चाहना र इच्छा बढी हुने बताउँदै प्राथमिकताको आधारमा वडाको विकास गर्नुपर्ने सुझाव दिंदै नेवाःखलले शिलान्यास गरेको संग्रालय निर्माणमा वडाको सहयोग हुने विश्वास व्यक्त गरे । नेवाःखलका सचिव अर्जुन ताम्रकारले सञ्चालन गरेको कार्यक्रममा नेवाःखलका कोषाध्यक्ष भैरबलाल श्रेष्ठले स्वागत गरेका थिए भने अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।