
लेखनाथ÷३० जेठ । बेगनास भोर्लेटार सडक अन्तरगत बेगनासताल तालवेसी सडक मर्मत नहुँदा जनतालाई सास्ती भएको छ । बेगनासताल देखि तावेसी सडक खण्डक अत्यन्तै नाजुक अवस्थामा रहेको यात्रा जोखिमपूर्ण रहेको स्थानिय सरोकारवालाले बताएका छन् ।
बेगनासताल –तालबेसी सडक सरोकार समितिले पोखरा ३१ पचभैया माझिकुना चोकमा साङ्केतिक रुपमा सोमबार बिहान आधा घण्टा सडक बन्द गरेको हो ।
दबाब मुलक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ३१ का वडा सदस्य देवेन्द्र अधिकारीले विगत देखि नै सडक मर्मतका लागि आफू सहित संलग्न भएर दबाबमुलक कार्यक्रमहरु गरिएको तर सुनाइ हुन नसकेको गुनासो गरे । जनताले गरेको कार्यक्रममा आफ्नो सहयोग रहने बताउँदै सडक मर्मतका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी नेकपा एमालेका प्रतिनिधि पुरुषत्तम अधिकारीले आफ्नो बाटो आफैले अवरुद्ध गर्नुपर्दा दुःख लागेको बताउँदै सडक मर्मतका लागि हामी स्थानिय वासी नै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
यसै गरी नेपाली कांग्रेसका प्रतिनिधि धु्रव नाथ अधिकारीले बेगनास पचभैया पर्यटकिय स्थल भएकाले स्थानिय तहका राजनितिक दलहरुसँग समन्वय गरी अगाडि बढ्न सुझाव दिंदै विकासमा सबै संगठित भएर लाग्नुपर्नेमा जोड दिए । यसै गरी नेकपा माओवादी केन्द्रका कृष्ण तिमिल्सिनाले बाटो मर्मतका लागि प्रदेश सरकारमा डेलिकेसन गएको बताउँदै छिटै नै अस्थायी रुपमा बाटो मर्मत हुने आश्वासन पाएको बताउँदै नयाँ आर्थिक वर्षमा बजेट बिनियोजन हुने पनि विश्वास व्यक्त गरे ।
यसै गरी नेकपा एकिकृत समाजवादीका नेता गोकर्ण तिवारीले अन्य स्थानको बाटोको तुलनामा बेगनासताल तालवेसी सडक खण्डको बाटो बिच धेरै भिन्नता भएको बताउँदै पोखरा महानगर प्रमुखसँग आफूले सडक मर्मतका लागि कुरा गरेको र सडकको निरिक्षण गरी छिटै नै अस्थायी रुपमा सडक मर्मत हुने आश्वासन पाएको बताए ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश थापाले नचाहेर पनि आफ्नो सडक बाध्य भएर बन्द गर्नुपरेको दुखेसो व्यक्त गर्दै स्थानिय सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।
सिड फाउण्डेसनका निर्देशक एवम् लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोसियसनका पूर्व अध्यक्ष दामोदर भक्त थापाले सांकेतिक रुपमा आधा घण्टा सडक बन्द गरेको बताउँदै सार्वजनिक विषय भएकाले सबै सरोकारवालाले गम्भिर भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
बेगनासताल –तालबेसी सडक सरोकार समितिका अध्यक्ष चिरञ्जिवी सुवेदीले गत बैशाख ५ गते भेला गरी सम्बन्धित निकायमा बाटो मर्मतका लागि अनुरोध गरिएको र आफ्नो अनुरोधलाई वेवास्ता गरिएकाले बाध्य भएर साङकेतिक रुपमा आाधा घण्टा सडक अवरुद्ध गर्नु परेको बताए । सम्बन्धित निकायबाट आफ्नो जायज मागलाई अझै पनि वेवास्ता गरेमा स्थानिय जनताबाट चन्दा उठाएर भए पनि सडक मर्मत गरिने बताए ।