समाचारसमाज

रत्नशोभामा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चयन

लेखनाथ/३१ जेठ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चयन भएका छन् ।
मंगलबार सम्पन्न भएको अभिभावक भेलाले अभिभावकहरु मध्येबाट तिन जनालाई सर्वसम्मतबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको हो । यसरी सर्वम्मत रुपमा चयन भएका सदस्यहरुमा महिला सदस्य मुना लामिछाने, रामकृष्ण भुर्तेल र हुकुम बहादुर भुजेल रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै वडा नं.२८ का वडा सदस्य कमल थापाले चयन भएका सदस्यहरुलाई बधाई दिंदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका निम्ति आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा शिक्षा महाशाखाका वरिष्ट शिक्षा अधिकृत एवम् विद्यालय व्यवस्थापन छनौट सहयोग समितिका संयोजक विश्वराज आचार्यले पोखरा महानगर शिक्षा महाशाखाको शिक्षा नियमावली अनुसार अभिभावक भेलाबाट एक जना महिला सहित ३ जना सदस्यमा छनौट हुन सक्ने व्यवस्था रहेको र वडा शिक्षा समितिबाट २ जना , वडा अध्यक्ष वा अध्यक्षले तोकेको १ जना जनप्रतिनिधि सदस्य रहने व्यवस्था रहेको जानकारी दिएका थिए । यसै गरी शिक्षक प्रतिनिधि १ जना र प्रधानाध्यापक सदस्य सचिव रहने गरी नौ जनाको विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था रहेको जानकारी दिंदै विद्यालय व्यवस्थापन समिति गठन प्रकृयाका वारेमा स्पष्ट पार्दै सहजीकरण गरेका थिए ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मोहन गुरुङले आफ्नो कार्यकालमा शैक्षिक उन्नयन एवम् भौतिक विकासका निम्ति सम्पादन भएको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आफूले कुनै स्वार्थ नराखी विद्यालयको हितमा काम गरेको बताए ।
आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयन एवम् भौतिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै गरी शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङले विद्यालय स्थापना काल देखि नै विद्यालय निर्माणका लागि सक्दो सहयोग गरेको बताए । शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष नरबहादुर नेपाली, समाजसेवी चन्द्रकान्त तिवारी लगाएतले विद्यालयका वारेमा आफ्नो धारणा राखेका थिए ।
निवर्तमान अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेलामा शिक्षक गोपी मायाँ गुरुङले स्वागत गरेकी थिइन् भने शिक्षक ऋषिराम रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: