समाचारसमाजस्थानीयगण्डकी प्रदेश

माछापुच्छ्रे गाउँपालिकामा हिस्टुनको अधिवेशन सम्पन्न

६ साउन, पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कास्कीको अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
महेन्द्र मा.वि., लाहाचोकको सभाहलमा सम्पन्न भएको अधिवेशनले लिलाधर अधिकारीको अध्यक्षतामा ५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । यसै गरी उपाध्यक्षमा हिरादेवि लामिछाने,सचिवमा नरेश लामिछाने, कोषाध्यक्षमा विष्णु पौडेललाई सर्वसम्मत रुपमा चयन गरिएको छ । पछि केही सदस्यहरु थपिने छ ।
यस अघि हिस्टुन केन्द्रीय सह अध्यक्ष एवम् गण्डकी प्रदेश अध्यक्ष शंकर तिवारीले विगत ३ दशकदेखि अन्यौल अवस्थामा रहेको साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको मागलाई राज्यबाट सम्बोधन नहुनु दुखद् भएको कुरा बताए । उक्त अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तिवारीले उक्त कुरा बताएका हुन् ।
सम्पूर्ण सरोकारवालाहरु एकढिक्का भएर लाग्न सकेको अवस्थामा मात्र एजेण्डा स्थापित हुने र त्यसका लागि संगठन मजबुत हुनु पर्ने कुरामा जोड दिए । सोही क्रममा तिवारीले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
यसै गरी हिस्टुन केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका सचिव सुरजमोहन पोखरेलले कार्यसमिति चयन गर्दा जसको समस्या उसको नेतृत्व हुनुपर्ने कुरामा जोड दिँदै त्यस तर्फ सम्बन्धित सरोकारवाला सचेत हुनुपर्ने बताए ।
कास्की जिल्ला अध्यक्ष चक्रपाणि सुवेदीले संगठनका जायज एजेण्डालाई राज्यबाट वेवास्ता गरिएको हुँदा सुतेको राज्यलाई घच्घच्याउन संगठनलाई सशक्त बनाई आन्दोलनका विभिन्न स्वरूपमा जानुपर्ने अवस्था आएमा सबै साथीहरू तयार हुनुपर्ने कुरामा जोड दिए ।
यसै गरी रूपा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापाले रूखको जरा जति जमिनमुनि फैलिन्छ त्यतिनै रूख दरो तरिकाले अडिन सक्ने उदाहरण प्रस्तुत गर्दै संगठनलाई स्थानीय तहदेखि नै बलियो बनाएर लैजानुपर्ने बताए ।
निवर्तमान अध्यक्ष मुक्तिराम पौडेलले एजेण्डा स्थापित गर्न सबै साथीहरु तन, मन, धन र वचनले लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिलाधर अधिकारीले आफ्नो प्रतिबद्धता भनाई राखेका थिए ।
निर्वाचन मण्डलको संयोजन हिस्टुन कास्की जिल्ला अध्यक्ष चक्रपाणि सुवेदीले गरेका थिए भने कार्यक्रम सञ्चालन निवर्तमान सचिव लिलाधर अधिकारीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: