
लेखनाथ, १३ साउन । पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
शुक्रबार अभिभावकको भेलाले गोविन्द प्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कर्यसमिति गठन गरेको हो । सर्वसम्मत रुपमा गठन गरिएको संघको सदस्यहरुमा डिल्लिराम तिवारी, राम्जी प्रसाद तिवारी, सुकमायाँ नेपाली, निर्मला परियार, द्रोणचार्य बास्तोला, पार्वती कंडेल, बिनोद गुरुङ रहेका छन भने शिक्षक प्रतिनिधिमा धनु पुन चयन भएकी छन् ।
यस अघि भेलालाई सम्बोधन गर्दैै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले भौतिक एवम् शैक्षिक उन्नयनका लागि सरोकारवालाहरुको वृहत भेला गरी आवश्यक परामर्श गरी शैक्षिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए ।
वडा नं.२८ का सामुदायिक विद्यालयका विभिन्न किसिमका समस्याहरुको समाधान गर्न वडा कार्यलय सकारात्मक रहेको बताउँदै शैक्षिक स्तर वृद्धि गर्न सरोकारवालाहरुलाई आवश्यक सल्लाह , सुझाव दिन आग्रह गरे ।
यसै गरी सोही कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेले व्यवस्थापन समिति आगामी दिनमा विद्यालयमा शैक्षिक स्तर वृद्धि गर्न अभिभावक, बुद्धिजिवी, पूर्व अध्यक्षहरु, विद्यालय प्रशासनसँग समन्वय गरी अगाडि बढ्ने बताए ।
व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मोहन गुरुङले विद्यालयमा सरोकारवालाहरुले सकारात्मक सोच राख्नुपर्ने बताउँदै सबैको समान धारणा हुनुपर्नेमा जोड दिए । मानिसको मूल्याङ्कन कामबाट हुने बताउँदै विद्यालयप्रति कसैको पनि नकरात्मक धारणा हुन नहुने बताए । नकरात्मक धारणा सदाको लागि त्याग्न सके मात्र विद्यालयको उन्नति र प्रगति गर्न सकिने बताउँदै विद्यालयमा समयसापेक्ष अनुसार परिवर्तन ल्याउन सरोकारवाला सबैको दृढसंकल्प हुनुपर्नेमा जोड दिए । विद्यालयमा आफ्नो कार्यकालमा भौतिक संरचना निर्माण गर्दाको अनुभव बताउँदै आगामी दिनमा आफ्नो तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने पनि बताए ।
शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष इमान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक पूर्ण बहादुर खत्रीले गरेका थिए ।
सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मोहन गुरुङले नव गठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेलाई विद्यालयको आर्थिक विवरण सहित समितिको निर्णय पुस्तिका हस्तान्तरण गरे पश्चात अध्यक्ष लामिछानेले पदभार ग्रहण गरेका थिए । त्यस्तै गरी शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष इमान बहादुर गुरुङले संघको निर्णपुस्तिका नव गठित संघका अध्यक्ष गोविन्द प्रसाद लामिछानेलाई हस्तान्तरण गरेका थिए ।