निधि-महतो : प्रतिष्ठाको प्रतिस्पर्धा
कार्तिक १९, २०७४-कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेपालका अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोको उम्मेदवारीले धनुषा ३ चर्चामा छ । निधिको पैतृक गाउँ नगराइन समेटिएको यो क्षेत्रमा महतोले उम्मेदवारी दिएपछि यहाँको चुनावी माहोल तरंगित भएको हो ।
गृह जिल्ला सर्लाही ४ बाट ०७० को संविधानसभा निर्वाचनमा पराजित राजपा नेता महतोले यसपालि निधिलाई चुनौती दिन धनुषा आउनुका पछाडि जनकपुर उपमहानगरको निर्वाचन परिणाम नै मुख्य हो । जनकपुरको मेयरमा राजपाका लालकिशोर साहले कांग्रेस उम्मेदवारलाई अत्यधिक मतान्तरबाट हराएका थिए । मधेसी आन्दोलनका अभियन्ता महतो मधेसमा निधिभन्दा आफ्नो वर्चस्व बलियो रहेको देखाउने उद्देश्यसहित जनकपुर आएका हुन् ।
उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारप्रसारमा खटिएका महतोले पटक–पटक चुनाव जितेर पनि निधिले जनकपुरलाई विकासको बाटोमा अगाडि बढ्न नदिएको आरोप लगाउँदै आएका छन् । उनले मधेस आन्दोलनका बेला मधेसीमाथि गोली चलाउन उत्प्रेरित गर्ने नेताका रूपमा समेत निधिविरुद्ध प्रचारबाजी गरिरहेका छन् । निधि–महतो टकरावलगायत कारणले कांग्रेस–राजपा/फोरमबीच प्रस्तावित चुनावी तालमेल पनि हुन सकेन ।
राजनीतिक विश्लेषक सुरेन्द्र लाभले निधि र महतोबीचको व्यक्तिगत असमझदारीका कारण उनीहरू आमनेसामने हुनुपरेको टिप्पणी गरे । ‘एउटै निर्वाचन क्षेत्रमा दुई महत्त्वपूर्ण व्यक्ति उठ्नुभएको छ । उहाँहरू दुवै प्रतिनिधिसभालाई चाहिन्थ्यो । यो प्रतिस्पर्धाले मधेसको प्रतिनिधित्व घटाउने भएको छ,’ उनले भने, ‘मधेसका दुई नेताको आपसी लडाइँले मतदातामा अन्योल बढाएको छ ।’
०५१ को मध्यावधि चुनावमा विजयी निधि ०५६ को चुनावमा राप्रपाका कृष्णप्रताप मल्लसँग पराजित भएका थिए । संविधानसभाका दुवै निर्वाचनमा नगराइन समेटिएको धनुषा–३ बाट उनी निर्वाचित भए । ०७० सालको दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार जुली महासेठ निधिसँग १ हजार ४ सय ९२ मतले पराजित भएकी थिइन् । त्यसबेला माओवादीका हरिदेव मण्डलले २ हजार ५ सय २३ मत प्राप्त गरेका थिए । अहिले यी दुई वाम पार्टी मिले पनि उनीहरूले तुलनात्मक रूपले कमजोर मानिएका उम्मेदवारलाई अगाडि सारेका छन् । ‘यो महतोलाई सजिलो बनाइदिने रणनीति हो,’ आफ्ना नेताले वामपन्थी मत पाउने महतो समर्थकहरूको दाबी छ । त्यसो भएको खण्डमा निधिको चुनावी चुनौती सहज हुने छैन ।