जहाजबाट बीचमै यात्रु झारियो अनि भनियो- गाडी चढेर जानुस्
पाकिस्तानको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ले यात्रुहरुलाई बीचमै ओह्रालेको घटना अहिले निकै चर्चामा छ ।
जानकारी अनुसार हालै पिआइएको एक विमान अबुधाबीबाट पाकिस्तानको रहीम यार खानका लागि उडेको थियो । तर विमान लाहोर विमानस्थलमै ओर्लियो । सबै यात्रुहरुलाई जहाजबाट बाहिर निकालियो । विमान कर्मचारीहरुले अब जहाज अगाडि जान नसक्ने भन्दै यात्रुहरुलाई लाहोबाट बस चढेर गन्तव्यसम्म जान आग्रह गरे ।
सायद कुनैपनि विमानले आफ्ना यात्रुहरुलाई बीच बाटोमै ओह्रालेर बस चढेर गन्तव्यमा पुग्न अह्राएको यो दुनियाँकै पहिलो घटना हुनुपर्दछ ।
एयरलाइन्सका अनुसार आकाशमा बाक्लो हुस्सुका कारण विमान गन्तव्यसम्म पुग्न नसकेको हो ।
विमानले यात्रुहरुलाई लाहोरमा उतारेर बसमा चढेर जान आग्रह गरेपछि धेरै यात्रु असमन्जसमा परे । कतिपय यात्रु तथा जहाजबाटै तल झर्न मानिरहेका थिएनन् । तर जहाज बन्द भएर भित्रको एसीसमेत बन्द गरिएपछि गर्मीका कारण तल झर्न बाध्य भए ।
यात्रुहरु रिसाउनु विनाकारण थिएन । किनकि लाहोरबाट रहीम यार खानको दूरी ६२४ किलोमिटर छ । कम्तिमा मुल्तान विमानस्थलसम्म आफूहरुलाई पुर्याइदिन यात्रुहरुले आग्रह गरिरहेका थिए तर उनीहरुको आग्रह पूरा भएन ।