हराएको १९ औं दिनमा मोटरसाइकल भेटियो
विष्णुहरि पौडेल
पोखरा, २५ जेठ ।
पर्वतको फलेवास गाउँपालिका वडा नं १ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल हराएको १९ दिनमा भेटिएको छ । पोखरामा बाइक चोरीका घटना बढिरहेका वेला वडा प्रहरी कार्यालय बगरको टोलीले १८० सिसीको पल्सर मोटरसाइकल शुक्रवार धनीलाइ बुझाएको छ ।
वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा लेखनाथ महानगरपालिका वडा नं २५ हेमजा मिलनचोकमा बेबारिसे अवस्थामा पार्किङ गरेको अवस्थामा ग १३ प ७१५६ नं को उक्त १८० सिसीको पल्सर मोटरसाइकल फेला पारेको प्रहरी निरिक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । १९ दिन अघि पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा विरामी श्रीमतीलाई खाना खुवाएर फर्कँदा आधा घण्टाको समयावधिमा पार्किङस्थलबाटै मोटरसाइकल हराएको शर्माले वताए ।
फेला परेको उक्त मोटरसाइकल प्रहरीले शुक्रवार मोटरसाइकल धनी शर्मा लाई वडा प्रहरी कार्यालय बगरमै बोलाएर बुझाएको हो । केही दिन अघि पनि पोखरा २५ मा नै बगर प्रहरीले फेला पारेको ग १४ प ५५६५ नं को पल्सर मोटरसाइकल सवारी धनी गोरखाघर भई हालगैह्रापाटन बस्दै आएका सञ्जोग थापा मगरलाई वडा प्रहरी कार्यालय बगरमै बोलाएर बुझाइएको प्रहरी नायव निरिक्षक नरेन्द्रजंग कार्कीले जानकारी दिए