समाचार

मन्त्रिपरिषदले गरेका निर्णयहरु

काठमाडौं , १४ असार
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक संसदमा पेश गर्ने भएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको हो। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग सम्बन्धी ऐनको पहिलो संशोधन अध्यादेश जारी गरेको थियो। संसद नभएको अवस्थामा तत्कालिन सरकारले २०७४ माघमा अध्यादेश जारी गरेको थियो। संसदको पहिलो अधिवेशनले ऐन संशोधन पारित नगरे पछि पुनः केपी ओली नेतृत्वको सरकारले अध्ययादेश जारी गरेको थियो।
दुई वर्षे कार्यवधिसहित गठन भएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग २०७१ सालमा गठन भएका थिए। प्रचण्ड नेतृत्वको सरकारले २०७३ माघ २६ गते एक वर्ष म्याद थपेको थियो। ऐनमा २ वर्ष कार्यवधि र थप एक वर्ष थप्न सक्ने व्यवस्था अनुरुप ऐन संशोधन नभए आयोग स्वत विगठन हुने अवस्थामा देउवा सरकारले अध्यादेश जारी गरी यी आयोगका म्याद थप गरेको थियो।
यसैबीच सरकारले युरोपीयन युनियनबाट ५ अर्ब ६ करोड अनुदान लिने भएको छ। मन्त्रीपरिषद बैठकले युरोपीयन युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्विकृत गरेको सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। यूरोपियन युनियनले कृषि क्षेत्रको विकासका लागि सो अनुदान दिएको हो। अनुदान कृषि विकास रणनीति कार्यान्वयनमा खर्च गरिनेसमेत प्रवक्ता बास्कोटाले जानकारी दिए। यसैबीच सरकारले विमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धि निर्दे्शिकासमेत स्वीकृत गरेको छ।
यसैबीच सरकारले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले हालै सम्पन्न प्रधानमन्त्रीको उत्तरी छिमेकी चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षा अनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको प्रवक्ता बास्कोटाले जानकारी दिए। यसैबीच बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्धैध कराधान मुक्ति तथा वित्तिय छल निरोधसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्न स्विकृति पनि प्रदान गरेको छ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: