स्वास्थ्य

कास्की पूर्ण खोपयुक्त जिल्ला बन्यो ,

साढे ८ हजार शिशुले पाए खोप

पोखरा, २७ असार
कास्की पूर्ण खोपयुक्त जिल्ला बनेको छ । पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर भएसँगै कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला बनेको हो । कास्कीमा सर्वप्रथम २०७२ सालमा साविकको चापाकोट गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो भने साविकको पोखरा उपमहानगरपालिका पनि २०७२ सालमै पूर्ण खोपयुक्त बनेको थियो । साविकको लेखनाथ पोखरासाग जोडिएर महानगर बनेपछि फेरि पूर्णखोप सुनिश्चित भएको हो ।
पोखरा महानगरपालिकाका र कास्की जिल्लालाई बुधबार एकैचोटी पूर्ण खोपयुक्त क्षेत्र घोेषणा गरियो । कास्कीका ८ हजार ६ सय ९८ जना १५ महिनाभन्दा तलका शिशुले खोप पाइसकेका छन्। १५ महिनासम्मका शिशुले ११ प्रकारका रोग विरुद्ध खोप लगाइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए । अब १६ देखि २४ महिनासम्मका शिशुलाई निगरानीमा राखिएको उनले बताए । कास्कीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताका स्वास्थ्य सुरक्षा प्रदेश सरकारले विशेष ध्यान दिने बताए । स्वास्थ्य सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताउँदै गुरुङले स्थानीय सरकारसँगको सहकार्यमै प्रदेश सफल हुने भनाइ राखे । प्रदेशका लागि खोप ऐन ल्याएर २ करोडको कोष छुट्याएको उनले बताए । आवश्यक परेको खण्डमा २० करोड रुपैयाँसम्म प्रदेश सरकारले छुट्याउन सक्ने उनको भनाइ थियो ।

Related Articles

Back to top button
%d bloggers like this: