एक व्यक्तिलाई २७ हजार नयाँ नोट, असोज २१ बाट वितरण गरिने
काठमाडौं , असोज १०
नेपाल राष्ट्र बैंकले असोज २१ गतेबाट नयाँ नोट वितरण गर्ने जानकारी गराएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै यस वर्षको दशैँका लागि असोज २१ गतेबाट २९ गतेमसम्म आठ दिन नयाँ नोट साट्न सक्ने गरी स्थान तोकेको हो। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट उपलब्ध गराउने जनाएको छ।
नेपाल राष्ट्र बैंकका कार्यालय, सरकारी स्वामित्वका तीन बैंक ९कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक० र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कृषि विकास बैंकले गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाएको छ।
नेपाल बैंकको काठकाडौंका न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा दिने जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा दिनेछ। नेपाल राष्ट्र बैंकले यस वर्ष ४० अर्ब रुपैयाँसम्म नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको छ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल राष्ट्र बैंकबाट अधिकतमा २७ हजार रुपैयाँसम्म एक व्यक्तिले साट्न पाउनेछ।