निर्मलाकी आमा दुर्गाको दुःख : छोरी नै नरहेपछि दशैँको के अर्थ?
प्रधानमन्त्रीको प्रतिवद्धता पनि आश्वासन मात्रै
कञ्चनपुर , २९ असोज ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी दुर्गा पन्तको घरमा अघिल्ला दशैँहरुमा असीमित खुसीहरु भित्रिने गर्दथे। तर यो वर्ष उनलाई दशैँ नै नआइदिए हुन्थ्यो जस्तो भएको छ।
दुर्गाकी माहिली छोरी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कार गरी हत्या भयो। तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता लाग्न सकेको छैन।
दशैँ आएकाले छिमेकका घरमा कोही रंगरोगन गरिरहेका थिए। धान काट्ने सिजन भएकाले कतिपय धान काट्ने कार्यमा व्यस्त थिए। सबैतिर दशैँको चहलपहल भइरहँदा निर्मलाको घरमा भने सन्नाटा छाएको थियो।
श्रीमानले १० वर्षअघि नै छाडेर कान्छी श्रीमतीसँग बस्न जान थाले पनि तीन छोरी र एक आमाको खुसीले फुरुङ भइरह्न्थ्यो यो घर। सडक छेउमै रेहेको घरको अगाडि पट्टीको बायाँ कोठामा पानीपुरीको व्यापार गर्थिन् उनी। घर नजिकै रहेको सरस्वती माध्यामिक विद्यालयमा तीन छोरीहरु लगनशील भएर पढाइलाई निरन्तरता दिइरहेका थिए।
निर्मला बहिनीहरुमा माहिली हुन्। उनकी जेठी दिदी मनिषा पन्त १० कक्षामा पढ्थिन्। बहिनी सरस्वती ७ कक्षामा र उनी आफू भने कक्षा ९ मा।
परिवारमा जिम्मेवारी र सामाजिक परिपक्वताका हिसाबले भने उनकी आमा दुर्गालाई निर्मला जेठी छोरी जस्तै लाग्थ्यो। निर्मला पारिवारिक र सामाजिक हरेक क्रियाकलापमा आमालाई सघाउने र सम्झाउने गर्थिन्।
‘पढाइ लगायत सामाजिक हरेक क्रियाकलापमा जेठी छोरी सरह लाग्थी। तर सबैभन्दा ठूलो दुःख पाएर मृत्युवरण गर्नु पर्यो,’ दुर्गा पन्तले आँसु सम्हाल्नै नसकेर भक्कानो छोड्दै भनिन्, ‘अरु कारणले मृत्यु भएको भए मनमा सान्त्वना राख्ने ठाउँ हुन्थ्यो होला, अपराधीको हातबाट मर्नुपर्यो। यसैमा सबैभन्दा बढी दुःख लागेको छ।’
दुर्गा र यज्ञराज पन्तले छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौँ पुगेर प्रधानमन्त्री केपी ओलीलाई समेत भेटे। तर भेटेर फर्किएको महिना भइसक्दा पनि प्रधानमन्त्रीले ‘निर्मला पनि मेरै छोरी हो, अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने’ भनेर गरेको प्रतिवद्धता पनि उनीहरुलाई झुठो आश्वासन लाग्न थालिसक्यो।
‘काठमाडौँबाट फर्किएको महिना भइसक्यो, तर हत्यारा पत्ता लाग्ने कुनै सुरसार छैन’, उनी भन्छिन्, ‘अब त आश पनि मर्न थालिसक्यो। सरकार पनि मूकदर्शक भयो। अपराधी लुकाउन ठूलै चलखेल भयो।’