लेक लागेर युवा व्यवसायि अधिकारीको मृत्यु
पोखरा, ७ कार्तिक ।
पोखरा महानगरपालिका ३३ का युवा व्यवसायी सरोज अधिकारीको निधन भएको छ । लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङको तिलिचो ताल घुम्न जाँदा लेक लागेर मृत्यु भएको छ । करिब ३५ वर्षीय सरोज अधिकारी पोखरा–३३ कांग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति समेत रहेका अधिकारी तिलिचो तालमा पुगेर फर्कनेक्रममा श्रीखर्कमा पुगेपछि लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
पोखराबाट यही कात्तिक ४ गते बिहान सात साथीका साथमा अधिकारी मनाङको यात्रामा निस्किएका थिए । तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि बुधबार बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।