समाचार

अस्पतालबाट छिट्टै फर्केर समृद्ध नेपाल सपनाको नेतृत्व लिनेछु : प्रधानमन्त्री

काठमाडौं , कात्तिक १३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट छिट्टै फर्किने बताएका छन्। मंगलबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले चिकित्सकहरूले दिएको सुझावअनुसार नै आफू छिट्टै फर्किने उल्लेख गरेका छन्। ‘चिकित्सकहरूले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किनेछु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’, प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा लेखेका छन्, ‘विगतमा झैँ समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।’

ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैलाई धन्यवाद दिएका छन्। उनी कात्तिक १२ गतेदेखि मौसमी रुघाखोकीलगायत बिरामीका कारण त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर सामाजिक संजाल र विभिन्न संचार माध्यममा आएका खबरप्रति असन्तुष्टि जनाएका छन् भने मुलुकमा पछिल्लो समय भएका घटनाप्रति सरकारले कडा कारबाही गर्ने उल्लेख गरेका छन्। कुन घटना भन्ने स्पष्ट नपारे पनि मंगलबार बिहान सर्लाहीमा भएको नेकपा र कांग्रेस कार्यकर्ताबीचको झडप र त्यस क्रममा भएको मृत्युप्रति संकेत गरेका छन्। कानुनविपरीत हुने क्रियाकलापलाई सरकारले कडा कारबाही गर्ने प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ।

Related Articles

Back to top button
%d bloggers like this: