समाचार

सरकारको रफ्तार कसैले रोकेर रोकिँदैन: प्रचण्ड

बुटवल, कात्तिक १७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशक विकासको दशक हुने बताएका छन्। बुटवलमा नेपाल कम्युनिष्ट पार्टीले दशैं, तिहार, छठ, ल्होसारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना सन्देश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण रुपमा क्रान्ति ल्याउने दशक शुरू भएको बताए।  ‘अबको १० वर्षमा नेपाल एशियाली मापदण्डभन्दा अघि बढ्छ। सुन्दर छँदैछ। यसलाई समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने,’अब प्रतिक्रियावादीका कुरा सुनेर बस्ने हाेइन। समृद्ध मुलुक बनाउने हो।’

सरकार गठन भएको एक वर्ष नबित्दै सरकारको आलोचना भएको भन्दै उनले कडा प्रतिवाद गरे। ‘जब वर्षायाम थियो,हिलो थियो। त्यसबेला सडक भत्कियो। खाल्डा परे भनेर सरकारको आलोचना गरियो। उनले भने, ‘त्यो बेला सरकार एक गियरमा चलाउनुपर्ने थियो। अब वर्षायाम सकिएको छ। अब सरकार फुल गियरमा अघि बढ्छ। यसको रफ्तार कसैले रोकेर रोकिँदैन।’

कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलले सरकारका कामको समीक्षा गर्ने समय नभएको भन्दै एक वर्षको बजेट कार्यान्वयन हेरेर समीक्षा गर्न आग्रह गरे। ‘हामी समृद्धिको महाअभियानमा छौं। जनताको हितलाई केन्द्रमा राखेर अघि बढिरहेका छौं,’ उनले भने,’करका दर धेरै भए भन्ने आलोचना भइरहेको छ। यदि धेरै भएका नै हुन् भने आगामी बजेटमा घटाइनेछ।’ कार्यक्रममा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, चक्रपाणि खनाल, टोपबहादुर रायमाझी, छविलाल विक, प्रदेश ५ अध्यक्ष ओनसरी घर्तीमगर लगायतकाे पनि उपस्थिति रहेकाे थियाे।

Related Articles

Back to top button
%d bloggers like this: