क्रिकेट खेलले नेपालको स्वाभिमान चिनाएको छ : मन्त्री विश्वकर्मा
बझाङ, कात्तिक १८
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले क्रिकेट खेलले विश्वमा नेपालको स्वाभिमान चिनाएको भन्दै क्रिकेट खेलको संरक्षण र सम्वर्द्धन गर्न जरुरी रहेको बताएका छन्। आइतबर सुदूरपश्चिम प्रदेशको बझाङस्थित बुङ्गल नगरपालिकामा बुङ्गल क्रिकेट एकेडेमीद्वारा आयोजित धौलीदेवी विसिए कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले उक्त कुरा बताएका हुन्। धौलीदेवी विसिए कप क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री विश्कर्माले नेपालको गरिमा र प्रतिष्ठालाई माथि उठाउन सफल क्रिकेटले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको समेत दाबी गरे।
धौलीदेवी विसिए कप क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा संघीय सांसद भैरवबहादुर सिंह, आशाकुमारी विक, प्रदेश सांसद देवकी मल्ल थापा र संविधानसभा सदस्य अफिलाल ओखेडा, अनेरास्ववियु महासचिव ऐन महरको समेत उपस्थिति थियो। उक्त क्रिकेट प्रतियोगितामा बैतडी, कैलाली र बझाङका गरी २२ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। उक्त प्रतियोगिताको राशि एक लाख पचास हजार रुपैयाँ रहेको आयोजक समितिले जानकारी दिएको छ।