याक अट्याकको उपाधी क्यानडाका करी वालेसलाइ
काठमाण्डौ, कार्तिक २७ ।
क्यानडाका करी वालेसले याक अट्याक २०१८ साइक्लिङको उपाधि जितेका छन्। उच्च हिमाली क्षेत्रमा आयोजना हुने यस अन्तर्राष्ट्रिय स्तरको साइक्लिङमा उनले नेपाली खेलाडीलाई पछि पार्दै लगातार तेस्रो पटक च्याम्पियन बनेका हुन्। लमजुङको बेसीसहरबाट सुरु भएको उक्त प्रतियोगिता मनाङको ताल, थोराङफेदी, मुस्ताङको कागवेनी हुँदै तातोपानी पुगेर टुंगिएको थियो।
पाँच दिनसम्म चलेको उक्त प्रतियोगिताको १८५ किलोमिटर दूरीलाइ उनले १२ घण्टा ३० मिनेट ५० सेकेन्डमा पूरा गरे। नेपालका रोहन तामाङ दोस्रो र नेपालकै ओकेश बज्राचार्य तेस्रो भए। रोहनले निर्धारित दूरी १३ घण्टा ३१ मिनेट ४६ सेकेन्डमा पुरा गरे भने ओकेशले १३ घण्टा ३५ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पुरा गरे।
महिलातर्फ अस्ट्रेलियाकी करेन हिल च्याम्पियन बनिन्। उनले निर्धारित दूरी १७ घण्टा ५९ मिनेट २१ सेकेण्डमा पुरा गरिन्। दोस्रो भएकी नेपाली साइक्लिस्ट लक्ष्मी मगरले निर्धारित दूरी १९ घण्टा १८ मिनेट २५ सेकेन्डमा पार गरिन् । यस्तै २६ घण्टा ३६ मिनेट ५८ सेकेण्डमा दूरी पार गरेकी नेदरल्यानडकी निएन्के उस्ट्रा तेस्रो भइन्। ।