पोखरा, १६ मंसिर । बेगनासताल बृहत् सफाई अभियानको ३७ औं हप्ता शनिबार सम्पन्न भएको छ। क्लव भवन देखि ड्यामसाईड हुँदै ताल वरपरका फोहोर संकलन गरेर शनिबारको कार्यक्रम सम्पन्न भएको अभियानका अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष राम बहादुर रानाभाटले वताए।
गत माघ २० देखि सुरुवात भएको कार्यक्रमले यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य वेगनासताल स्वच्छ र सफा बनाउने उदेश्यले प्रत्येक हप्ता सफा गर्दै आईरहेको छ। वेगनासताल लाइ आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्येले वृहत वेगनासताल सरसफाइ अभियान नै संचालन गरिएको अभियन्ता रानाभाटले भने।
क्लवले समाजमा सचेतना ल्याउन अभियान नै संचालन गरिरहंदा केहि स्थानीय तथा होटल रेस्टुरेन्ट व्यवसायी हरुको वेवास्ताले गर्दा अझै पनि पुर्णरुपमा सफा हुन नसकेको अवस्था देखिन्छ।
सामान्यतया चटपटे, चाउचाउ, गुटका तथा सुर्तीजन्य पदार्थ हरुको कागज तथा प्लास्टिक जन्य फोहोर हरु बढी मात्रामा भेटिन्छन् । तिनको निराकरण तथा समाधानका लागि क्लबले आफ्नै मातहतमा डस्विनको पनि व्यवस्था गरेको छ तर मानिसहरुको नैतिकता र आचरणले जथाभावी मिल्काउदा फोहोर वढेको पाईन्छ।
अभियानको शुरुआत देखि नै साथ दिदै आएका होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ, वेगनास महिला समूह, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, बेगनासताल वस संचालक समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, नमुना टोल विकास संस्थाले ३७ औं हप्तामा पनि आफ्नो साथ जारी राखेका थिए।