समाचार

आज विवाह पञ्चमी

मंसिर २६ ।
त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार रामले मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गरेको तिथी मानिन्छ । मंसिर शुक्ल पञ्चमी अर्थात आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।
सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ ।

राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको ¥यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

Related Articles

Back to top button
%d bloggers like this: