समाचार

पर्वत बस दुर्घटनाः मृत्यु भएका सातैजनाको सनाखत,

९ को अवस्था गम्भीर

पर्वत, माघ ३ ।

पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सातैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा म्याग्दी जिल्लाको पाखापानीका २१ वर्षीय राजेश पुन, पर्वतको जलजला गाउँपालिकाका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, जलजला गाउँपालिका–८ का ५० वर्षीय टिके परियार र उनकी श्रीमती सेती परियार, चितवन, भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार र बागलुङ नगरपालिका–४, कुडुलेकी ४८ वर्षीया शान्ति केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

तीनजनाको घटनास्थलमै र चारजनाको धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचारकाक्रममा मृत्यु भएको थियो । म्याग्दीको सदरमुकाम बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको यात्रीवाहक बस बिहीबार बिहान साढे ८ बजेतिर पर्वतको मालढुंगानजिकै दुर्घटना भएको हो ।

घाइते ३२ मध्ये ९ जनाको अवस्था गम्भीर

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि डाइनेस्टी एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ । उनीहरुमध्ये सातजनाको छाउनी अस्पताल र दुईजनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अरु २२ जना घाइतेको पोखरामा र एकजनाको धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

‘साँघुरो बाटोमा तीव्रगतिका कारण दुर्घटना’

साँघुरो बाटोमा तीव्रगतिका कारण बस सडकबाट झन्डै २०० मिटर तल कालीगन्डकी नदीमा खसेको प्रहरीले जनाएको छ । म्याग्दीबाट १४ जना यात्री लिएर छुटेको बस आधा घन्टामै दुर्घटनामा परेको हो । बसमा सवार अरु यात्रुहरु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका जनाइएको छ । दुर्घटना भएको आधा घन्टामै सबै घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: